सत्तारुढ दल नेकपाको नयाँ जिल्ला कमिटी सिफारिसका क्रममा प्रदेश ५ मा पूर्व एमालेको भागमा परेका सातै जिल्ला कमिटीको नेतृत्वमा ओली पक्षका नेता पठाएपछि विवाद चर्किएको छ। अहिले सम्म पार्टीले विवाद मिलाउन सकिरहेको छैन ।
प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालीन एमालेले ७ र तत्कालीन माओवादीले ५ जिल्लाको नेतृत्व पाउने सहमति भएको थियो।
यसरी पूर्व एमालेको भागमा परेका सात वटै जिल्लाको नेतृत्वमा केपी ओली निकट नेताहरू मात्र सिफारिस भएपछि वरिष्ठ नेता माधव नेपाल समूह आक्रोशित भएको हो।
प्रदेश पाँचमा पर्ने दाङ, बाँके, रुपन्देही र रोल्पामा पहिले माधव नेपाल समूहका नेता पार्टी अध्यक्ष थिए। अहिले उनीहरूमध्ये एकजना पनि जिल्ला नेतृत्वमा नरहने गरी सिफारिसमा गरियो। त्यस कारण पनि माधव नेपाल आर्कोशित छन ।
यो सिफारिस कार्यान्वयन भएमा आफूहरूले समानान्तर जिल्ला कमिटी गठन गर्ने चेतावनी नेपाल पक्षले दिएको छ। नेकपा सचिवालयमा पठाइएको सिफारिसमा अन्तिम निर्णय सचिवालयलेनै लिनेछ।
नेकपाले जिल्ला नेतृत्व एकीकरणका लागि पूर्व एमाले र पूर्व माओवादीका प्रदेश संयोजक र सहसंयोजक रहेको चार जनाको कार्यदल गठन गरेको थियो।
प्रदेश ५ कमिटीमा पूर्व एमालेका तर्फबाट संयोजक शंकर पोखरेल र सह( संयोजक दलबहादुर राना दुवै ओली निकट हुन्।
पोखरेलले दाङमा जिल्ला अध्यक्षका लागि नेपाल(समूहका पूर्व अध्यक्षलाई पन्छाएर आफ्नै बहिनी ज्वाँइलाई सिफारिस गरेपछि माधव नेपाल पक्ष असन्तुष्टि भएको हो ।
दाङको जिल्ला कमिटी अध्यक्षमा पोखरेलले आफ्नै ज्वाँइ शिवकुमार आचार्यलाई अध्यक्षका लागि सिफारिस गरेका छन्। तत्कालीन एमालेको जिल्ला कमिटी निर्वाचनमा उनी सदस्यमा पनि पराजित भएका थिए। उनलाई अध्यक्षमा सिफारिस गर्न दाङका एमाले अध्यक्ष टिकाराम खड्कालाई पाखा लगाइएको छ।
नेकपाको प्रदेश ५ मा यसअघि इन्चार्ज विष्णु पौडेल थिए। तर, उनी पार्टी महासचिव चयन भएपछि पोखरेलले संयोजकको जिम्मेवारी पाएका थिए।
सात प्रदेशमध्ये पाँच नम्बर प्रदेशसहित राजधानी रहेको तीन नम्बर प्रदेशले पनि सिफारिस सचिवालयमा पठाइसकेको छ। तीन नम्बर प्रदेशको सिफारिसमा भने विवाद देखिएको छैन।
यो प्रदेशका १३ जिल्ला र अन्य चार जिल्ला सरहका गरि १७ वटा कमिटी मध्ये सात वटामा नेतृत्व माओवादीले पाएको थियो भने बाँकी दशवटामा तत्कालीन एमालेले नेतृत्व पाएको थियो। एकता कार्यदलमा तत्कालीन एमालेबाट अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी सह(संयोजक छन्। शाक्य नेता नेपाल निकट हुन् भने अधिकारी ओली निकट हुन्।
यो प्रदेशमा पाँच जिल्लाको नेतृत्व माधव नेपाल समूह र पाँच जिल्लाको नेतृत्व केपी ओली पक्षबीच बाडिएको छ।
