समाचार प्रभावः सामूहिक बलात्कारपछि हत्या गरिएकी मायाको परिवारलाई पाँच लाख क्षतिपुर्ति

११ भाद्र २०७५, सोमबार १८:४६

कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी माया विकको परिवारलाई प्रदेश सरकारले पाँच लाख क्षतिपुर्ति दिने भएको छ । प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सोमबार विहान मात्र आयो खबर डटकमले माया विकले क्षतिपुर्ति नपाएको भन्दै कानुनमा पनि विभेद शिर्षकमा समाचार लेखेको थियो । फलस्वरुपः सोमबार दिउसो बसेको मन्त्री परिषद बैठकले मायाको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताएका छन् ।

नगरपालिकाको सामाजिक परिचालिकामा कार्यरत माया गएको असार १२ गते बेपत्ता भएकी थिइन भने असार १५ गते नगरपालिका–११, को चपरथली सामुदायिक वनभित्र शव भेटिएको थियो ।

माया विकको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा अदालतले गौरीगंगा नगरपालिका–११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, त्यसै ठाउँका २७ वर्षीय मनोज बोगटी, सोहि ठाउँका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई पूर्पक्षका लागि कैलाली कारागार चलान गरिसकेको छ ।

प्रदेश ७ को सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टका परिवारलाई पनि राहत दिने भएको छ । तर राहत रकम कति दिने भन्नेबारे भने खुलाइएको छैन । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पीडित परिवारसँगको भेटघाटपछि रातहको घोषणा गरिने बताएका छन् ।

निर्मला पन्तको परिवारलाई न्याय दिलाउनका लागि प्रदेश सरकार लागि परेको प्रदेश ७ का मन्त्री शाहले बताए । निर्मला हत्या काण्डमा मात्रै नभएर प्रदेश सरकारले प्रदेशमा घटेका यस्ता घटनाका पीडितहरुलाई न्याय र राहत उपलब्ध गराउन प्रयासरत रहने उनले आश्वासन दिए ।