ऊर्जामन्त्री वर्षमान पुन (अनन्त) विद्युतीय गाडी मार्फत यात्रा गर्ने भएका छन् । उनले मुलुकमा विद्युतिय साधनहरुको उपयोग बढाउने उद्देश्यका साथ विद्युतिय सवारी साधनको यात्रा थालेका हुन् । ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हाले लगत्तै उनले स्वेतपत्रमार्फत विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि गर्ने योजना अघि सारेका थिए । यसलाई कार्यान्वयनमा ल्याउनको लागी पुनले पहिलो पटक आफै विद्युतिय सवारी चढ्न थालेका हुन् ।
विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्न मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायतका पूर्वाधार निर्माणको कार्ययोजना तयार गर्ने बताएको छ । यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउने लक्ष्य सरकारको छ ।
केही दिनअघि राष्ट्रपति निवासले पनि विद्युतीय सवारी पाएको छ । नेपाल विद्युत प्राधिकरणले पनि आफू मातहतको इन्जिनियरिङ कम्पनीमा विद्युतीय गाडी किनेर प्रयोगमा ल्याएको छ ।
सर्वसाधारण नागरिकलाई पनि विद्युतीय सवारीमा आकर्षित गर्न सरकारले पनि विद्युतीय सवारीमा जोड दिन थालेको छ । विद्युतीय सवारीले तेलको खपत घटाउनुका साथै प्रदुषण नियन्त्रणमा सघाउन पुर्याउँछन् ।
