कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र आन्दोलनको क्रममा गोली लागेर निधन भएका सनि खुनालाई सरकारले शहिद घोषणा गरेको छ । शनिबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले उनीहरु दुबै जनालाई शहिद घोषणा गरेको हो । साथै सरकारले दुबै परिवारलाई १०-१० लाख रुपैया दिने भएको छ ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा जोगाउन प्रहरीले नक्कली अभियुक्त खडा गरी वास्तविक अपराधी लुकाउन खोजेको भन्दै विहीबारदेखि कञ्चनपुरमा आन्दोलन सुरु भएको थियो। सोही क्रममा शुक्रबार साँझ प्रहरीको गोली लागी १३ बर्षीय बालक सनि खुनाको मृत्यु भएको थियो।
आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीले त्यहाँ निशेधाज्ञा समेत जारी गरेको थियो। आन्दोलनकारीले प्रहरीको गोलीबाट निधन भएका सनिलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका थिए। सोही मागको सुनुवाई गर्दै सरकारले उनी र निर्मललाई शहीद घोषणा गरेको हो।
आजको मन्त्री परिषदले निर्मलाका वास्तविक हत्यारा लुकाउन भूमिका खेलेको आरोप लागेका कञ्चनपुरका एसपी एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाई निलम्बन गर्ने निर्णयपनि गरेको छ।
तिनै जनालाई प्रहरी प्रधान कार्यालयले शनिबार नै काठमाडौँ बोलाइ सकेको छ।
