प्रहरीले गोली चलाउँदा कञ्चनपुरमा ३ जना आन्दोलनकारी घाइते

७ भाद्र २०७५, बिहीबार १३:१९

भदौ ७, २०७५ काठमाडौं ।

बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि शुरु भएको आन्दोलन उग्र बन्दै गएको हो ।

आन्दोलन शुरु भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो ।

आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए ।

प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको हो ।

गोली चलाउने क्रममा आन्दोलनकारीको खुट्टामा लागेको बताइएको छ । गोली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको बताइएको छ ।

प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ९डिएसपी० ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।

‘आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डिएसपी सेठीले भने ।