भदौ ५, काठमाडौं ।
उद्योगी विनोद चौधरीले मुलुकले नागरिकबाट उठाएको करको सदुपयोग नै गर्न नसकेको बताएका छन् ।
आज संसद बैठकमा बोल्दै सांसदसमेत रहेका उनले जुन प्रयोजनका लागि कर उठाएको हो त्यो काममा सदुपयोग नगरेसम्म कर उठाउनुको औचित्य नहुने बताए ।
‘कर करदाताले धान्न सक्ने हुनुुपर्ने, एकै प्रकारको आर्थिक गतिविधिमा अलग अलग तरिकाले लगाउन नमिल्ने र यसरी लगाइएको कर जुन प्रयोजनका लागि विनियोजित भएको हो, सदुपयोग भएको अनुभूति करदतालाई हुनुपर्ने पहिलो शर्त हो’ उनले भने ‘तर कर उठाएर त्यसको सदुपयोग गरिएको छ कि छैन हेर्यो भने स्पष्ट तस्वीर ल्याउँछ ।’
चौधरीले २०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषको रकम अहिलेसम्म सदुपयोग नगरिएको बताए । ‘यो कोषमा सरकार र निजी क्षेत्रका रोजगार र मजदुरको रगत पसिना परेको छ’ उनले भने ‘३३ अर्ब थन्किएको छ ।
सैद्धान्तिक रुपमा भन्ने हो भने यसरी काम गर्नेको तलब कट्टा गरेर जम्मा गरिएको रकम उनीहरुको सुविधा लागि, शिक्षा, आवास, उपयुक्त काम गर्ने वातावरणको पूर्वाधारका लागि खर्च गर्नुपर्ने हो ।’
उनले यस विषयमा सरकार जिम्मेवार भएमा सामाजिक सुरक्षा कोषको रकम के भइरहेको छ भन्नेबारे संसदमा जवाफ दिनुपर्ने बताए ।
त्यसैगरी उनले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थमा कर लगाएर २३ अबं संकलन गरिए पनि त्यसको सदुपयोग नगरेको बताए ।
