गण्डकी प्रदेशः सरकारबारे गुनासो छ ? ‘१०९४’ मा फोन गर्नुस्

५ भाद्र २०७५, मंगलवार ०८:५३

भदौ ५, २०७५ पोखरा । गण्डकी प्रदेशले प्रदेशका जनताहरुका गुनासाहरु सुन्नका लागी हटलाईन सेवा सुरु गरेको छ । सरकारले जनताका गुनासाहरुलाई सिधै मुख्यमन्त्री कहाँ पुर्याउनका लागी हेल्लो मुख्यमन्त्री हटलाइन सुरु गरेको हो। हेल्लो मुख्यमन्त्री हटलाईन सेवा सोमबारदेखि सञ्चालनमा आएको हो । आप्ना गुनासाहरु सरकार समष पुर्याउनका लागी सर्वसाधारणले १०९४ नम्बरको हटलाइन नम्बरमा फोन गर्नुपर्ने हुन्छ । प्रदेशका जनताले सरकारको कामकारबाहीको बारेमा गुनासो, जिज्ञासा, जानकारीलगायतका कुराहरु सहजै मुख्यमन्त्रीलाई सोध्न र भन्न सक्नेछन्। ‘जनताले समस्या सिधै भन्न सक्नुहुनेछ’ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘हाम्रो उद्देश्य जनता, नेता र सरकारको सम्बन्ध नजिकको बनाउनु हो। जति नजिक हुन सकिन्छ, त्यत्ति समस्या पहिचान हुन्छ, यो हटलाईन सेवालाई अझै प्रभावकारी बनाइनेछ।’ हटलाइन नम्बर उठाएर मुख्यमन्त्री आफैँले गुनासो सम्बोधन गर्नेछन्।

प्रदेश भित्र हुने विकास निर्माणको गति र अनियमितता सुनेर विकासलाई गति दिन सहयोग पुर्‍याउने हटलाइनको अर्को उद्देश्य रहेको मुख्यमन्त्री गुरुङले बताए। हटलाइन नम्बर सुरु भएको पहिलो दिन दुई जनाले हटलाईन सेवामा मुख्यमन्त्रीसँग नै गुनासो गरे। पोखरा सिम्पानीका कृष्ण पौडेल र नदिपुरका उपेन्द्र पौडेलले पर्यटन विकासमा भएको ढिलासुस्तीका बारेमा गुनासो गरेका थिए। हटलाइन सेवामा दुईजना कर्मचारी कार्यालय समय बिहान १० बजे देखि साँझ ५ बजेसम्म बसेर गुनासो सुन्ने गर्छन्। कार्यालय समय बाहेकको समयमा भने गुनासो रेकर्ड हुने व्यवस्था मिलाइएको छ। मुख्यमन्त्रीको कार्यालयले सर्वसाधारणले समस्या टिपाउन तथा कुनै कामकारबाहीको विषयमा सिधै उजुरी गर्न पाउने जनाएको छ।