सांसद् नै सन्तुष्ट छैनन् सरकारप्रति : सरकारले बाढी र पहिरोपीडितप्रति चासो नदेखाएको गुनासो

४ भाद्र २०७५, सोमबार १५:२२

भदौ ४, काठमाडौं ।

आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरूले आरोप लगाए । सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिवार बाजुरा जिल्लामा गएको पहिरोमा परी १ जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौं नागरिक विस्थापित भएपनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गरे ।

उक्त सभाको बैठकमा सांसद सिंहबहादुर विश्वकर्माले वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परिरहेको बताए । उनले अरनिको राजमार्गसम्म पानीको सतह बढेर ठूलो धनजनको क्षति हुने खतरा देखिएको भन्दै बगेको पुलको सट्टामा शीघ्र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बेलीब्रिज राख्नुपर्नेमा जोड दिए ।