भदौं ३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न आग्रह गरेका छन् ।

आइतबार राजधानीमा सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जान्छ । अलिअलि टिप्पणी गर्ने मान्छे त हुन्छ, कोही सिंहदरबारमा नाङ्गै उभिन्छन् । ती मान्छेहरु विषयवस्तु बुझेर विरोधमा उत्रिएका होइनन् । कसैले विरोध गर्नुपर्छ भनेर लागेका हुन् ।”
उनले संविधान पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए । “अहिलेको संविधान हामी आफैंले बनाएको हो, कसैले आएर बनाइदिएको होइन । यो मेरो हातले झुक्किएर बनाएको पनि होइन, पालना गर्न र गराउनको लागि बनाएको हो,” उनले भने ।
ओलीले देश गरिब भए पनि सरकार गरिब नभएको भन्दै समीक्षा गर्दै आफूहरु अगाडि बढ्ने बताए । उनले भने, “देश गरिब भएपनि सरकार गरिब छैन । एकैचोटी परिपक्वता आउँदैन । हामी इतिहासबाट पाठ सिकेर अगाडि बढ्दैछौं । स्थानीय तहहरु प्रदेशसँगको संघर्षका लागि लडिरहेका छन् । सबैलाई समान हक अधिकार प्रदान गर्न सरकार तत्पर छ ।”
उनले सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै गोपनियता राख्न सबैलाई आग्रह गरे । “मलाई जानकारी हुनुभन्दा पहिले नै विभिन्न आइएनजिओका साथीहरु आएर यो के हो, कस्तो हो भनेर पाना पल्टाएर देखाउनुहुन्छ । सूचनाको हक राष्ट्रहितको पक्षमा हुनुपर्छ । सही ठाउँमा सही सूचना माग गर्नुपर्छ,” ओलीले भने ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सत्ताको दुरुपयोग नगर्ने बताउँदै पारदर्शिता र सभ्य समाज निर्माणको दिशामा लागेको जोड दिए ।
