साउन ३१, काठमाडौं ।
काठमाडौंको कलंकी चोकमा निर्माण भएको ‘अन्डर वे पास’ भदौ १ गते (भोलि)देखि सञ्चालनमा आउने भएको छ ।
कुल ८ सय मिटर लामो अन्डरपास कलंकी चोकबाट बल्खु र सीतापाइला दुवैतर्फ ४/४ सय मिटर लामो छ ।
नेपालमा पहिलोपटक बनेको अन्डरपासमा गाडी कसरी चलाउने भन्नेबारे धेरै सवारी चालकलाई जानकारी छैन । कलंकी क्षेत्रमा सवारी आवागमन व्यवस्थापनमा खटिएका ट्रफिक प्रहरी निरीक्षक तिलकबहादुर बडुले केही दिन चालकहरूलाई जानकारी गराइने बताए ।
‘बल्खुबाट सीतापाइलातर्फ जाने गाडीहरू र स्वयम्भुबाट बल्खुतर्फ जाने अर्थात् चक्रपथ परिक्रमा गर्ने गाडीहरू अन्डरपास भएर चल्नेछन् । थानकोटतर्फबाट काठमाडौं उपत्यकामा भित्रिने र नयाँ बसपार्कतर्फ जानेहरू बायाँतर्फ जानुपर्ने हुन्छ,’ उनले भने ।
त्यस्तै थानकोटबाट कालीमाटीतर्फ जाने गाडीहरू सिधा माथिबाट र बल्खुतर्फ जाने गाडीहरू दायाँतर्फ जनुपर्नेछ । चिनियाँ कम्पनी ‘द थर्ड रेल्वे एण्ड डिजाइन इन्स्टिच्युट गु्रप कर्पोरेसन’को डिजाइनअनुसार कलंकीमा नेपालकै पहिलो अन्डरपास बनेको हो । यसको लम्बाई ०.८५ किलोमिटर छ ।
