साउन ३१, काठमाडौं । द गार्डियन
टर्कीको मुद्रा तीव्र रूपमा अवमूल्यन भएपछि कतारले त्यहाँको बैंकिङ क्षेत्रलाई उकास्नका लागि १५ अर्ब डलरबराबरको ऋण उपलब्ध गराउने भएको छ ।

अमेरिकासँगको कूटनीतिक द्वन्द्वको एक हप्तापछि टर्कीको मुद्रा लिरा तीव्र गतिमा झरेको थियो । टर्कीले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग संकटकालीन लगानीका लागि गुहार्नु नपरोस् भनी कतारले सहयोगस्वरूप ऋण दिएको हो ।
अंकाराका अधिकारीहरूले कतारी ऋण ‘टर्कीका आर्थिक मार्केट र बैंकहरूमा पु–याइने’ बताए र यो लगानी बैंकहरू धराशायी हुनबाट जोगाउन पर्याप्त हुने संकेत दिए ।
तर कतारी लगानीले टर्कीको लिरालाई राहत दिएपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अंकाराविरुद्ध थप व्यापार प्रतिबन्ध लगाउने घोषणा अनि डलरको भाउ आकाशिनु तथा चिनियाँ प्रविधि संस्थाहरूमा कमजोर मुनाफा हुनुले विश्वव्यापी आर्थिक बजारलाई उल्टो दिशामा हिँडाएको छ ।
बेलायत, जर्मनी र फ्रान्सका शेयर बजारमा गिरावट आयो भने विकासशील मुलुकका बजार पनि ओरालो लागे ।
केही विश्लेषकहरूले मुद्रा अवमूल्यनको शृंखला कायम रहने किनकि अमेरिकी राष्ट्रपतिले टर्की, चीन र युरोपेली संघमाथि अझ बढी व्यापार शुल्क लगाएका छन् ।
ट्रम्पले कार्यकारी अधिकारी प्रयोग गर्दै स्टील, आल्युमिनियम र कारमा थप शुल्क लगाएका हुन् जसले गर्दा अमेरिकी आयातमा ती मुलुकहरूले प्रतिशोधस्वरूप कर लगाएका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तय्यप अर्दोआनले अमेरिकी शुल्कको प्रतिशोधस्वरूप अल्कोहल, कार र टोबाको लगायत अमेरिकी आयातमा बढी आयात शुल्क लगाएका छन् ।
