भारतको ७२ औं स्वतन्त्रता दिवस, नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण

३० श्रावण २०७५, बुधबार १२:४१

साउन ३०, काठमाडौं ।

भारतले नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

लैनचौरस्थित दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् ।

समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।

भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर भारतले यसअघि नै विभिन्न सामाजिक संघसंस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १३६ वटा बस उपलब्ध गराइसकेको छ ।

समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।

सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ ।