“अमेरिकासँग युद्ध पनि नहुने अनि कुराकानी पनि नहुने” : नेता खमेनेई

२९ श्रावण २०७५, मंगलवार १६:२६

साउन २९, काठमाडौं । एजेन्सी

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनेईले अमेरिकासँग युद्ध पनि नहुने अनि कुराकानी पनि नहुने सोमवार बताएका छन् ।

अमेरिकाको नयाँ प्रतिबन्धले भन्दा पनि सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशमा समस्या आएको उनको टिप्पणी छ । यो टिप्पणीले राष्ट्रपति हसन रूहानीमाथि दबाब बढ्नेछ ।

मुद्रा कमजोर भएको अनि भ्रष्टाचार र महंगीका कारण इरानमा व्यापक प्रदर्शन भइरहेका छन् ।

खमेनेईले अमेरिकासँग कुराकानीको सम्भावनालाई खारेज गरे । उनले भने, ‘अमेरिकाका अधिकारीहरू हाम्रो बारेमा अनुचति कुरा बोलिरहेका छन् । प्रतिबन्धबाहेक पनि उनीहरू युद्ध वा वार्ताको कुरा गर्दैछन् । यससम्बन्धमा म भन्छु – न युद्ध हुन्छ, न वार्ता ।’

अमेरिकाले इरानलाई वार्ताका लागि बाध्य बनाउने अनुमानहरू भइरहँदा खमेनेईको बयानले त्यसो नहुने स्पष्ट पारेको छ ।

आणविक सम्झौताअन्तर्गत प्रतिबद्धताको उल्लंघन गरेपछि अमेरिका विश्वासयोग्य नरहेको इरानको भनाइ छ ।

प्रतिबन्धलाई हामीले कसरी सामना गर्छौं भन्ने कुराले त्यसको असर पर्ने नपर्ने निश्चित हुने खमेनेईको भनाइ छ ।