क्रिकेटर केसी गण्डकी प्रदेशबाट नगद सहित सम्मानित

२७ श्रावण २०७५, आईतवार १७:२०

साउन २७, काठमाडौं ।

क्रिकेटर करण केसी गण्डकी प्रदेशबाट नगद १ लाखसहित सम्मानित भएका छन् ।

राष्ट्रिय क्रिकेट टिमका सदस्य करणले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशसहित समग्र नेपालकै नाम उज्वल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले केसीलाई नगद १ लाख, सम्मान पत्र, दोसल्ला, माला र खादा लगाएर सम्मान गरे ।

सम्मान पाएपछि बोल्दै युवा क्रिकेटर करणले सम्मानले आफूलाई क्रिकेटमा समर्पित गर्न थप प्रेरणा दिएको बताए । उनले भने, ‘अब पनि म जिउज्यान लगाएर खेल्छु र आफ्नो देशलाई जिताएर विश्वसामु नेपालको झण्डा फहराउँछु ।’ उनले पहिले नेपाललाई सगरमाथाको देश भनेर चिन्ने गरेपनि हाल आएर क्रिकेटका कारण पनि चिन्न थालेको प्रसंग सुनाए ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्ने लक्ष्य राखेको बताइन् ।