साउन २३, काठमाडौं ।
अक्षय कुमार अहिले बलिउडका ठूला स्टारमध्ये एक हुन् । उनका फिल्मले सजिलै सय करोड कमाउँछन् ।
तर, यहाँसम्म आइपुग्न अक्षयले कम्ता पापड बेल्नु परेको थिएन । ९० को दशकमा उनले आमिर खानको प्रमुख भूमिका रहेको फिल्ममा सानो रोलका लागि अडिसन दिएका थिए । तर, उनी फालिए । फिल्म थियो, ‘जो जिता वही सिकन्दर’ । निर्देशक मन्सुर खानले उनलाई रिजेक्ट गरेका थिए । पछि सो रोल दिपक तिजोरीले पाए । फिल्म पनि सुपरहिट भयो ।
अक्षयले १९९१ मा ‘सौगन्ध’ बाट डेब्यू गरे । यो फिल्म नराम्रोसँग पिटियो । अन्ततः उनलाई चिनाउने काम गर्यो १९९२ मा आएको फिल्म ‘खिलाडी’ ले । यो फिल्मको सफलतापछि उनलाई ‘बलिउडका खिलाडी’ भन्न थालियो ।
तर, त्यसपछि पनि अक्षयका धेरै फिल्महरु फ्लप भए । १९९४ मा मात्रै उनका १२ फिल्म प्रदर्शन भएका थिए । तीमध्ये ‘मोहरा’ र ‘मै खिलाडी तु अनाडी’ मात्र चले ।
अजय देवगणको डेब्यू फिल्म ‘फूल और काँटे’ का लागि पहिले अक्षयलाई अफर गरिएको थियो । तर, सुटिङ सुरु हुनुभन्दा दुई दिन अगाडि उनलाई मध्यरातमा फोन आयो । उनलाई हटाएर अजय देवगणलाई लिइएछ । यो फिल्मले अजयलाई एकाएक स्टार बनाएको थियो ।
१९९१ देखि २००० को बीचमा अक्षयले ४२ फिल्ममा अभिनय गरेका थिए । तीमध्ये १२ फिल्मले मात्रै लगानी उठाउन सफल भए ।
पछिल्लो समयको कुरा गर्दा अक्षय वर्षमा ३-४ वटा फिल्ममा अभिनय गर्छन् । उमेर ढल्किदै गए पनि उनको स्टारडम खस्किएको छैन ।
