सीमाक्षेत्रमा भारतीय पक्षले आफ्नो भूमि दाबी गर्दै पक्की सडक निर्माण

२३ श्रावण २०७५, बुधबार ११:३७

साउन २३, काठमाडौं ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ ।

भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब दुई सय मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए ।
सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो ।

भारतीय पक्षले हाल उक्त क्षेत्रमा पक्की सडक बनाउन थालेको छ । करीब एक हजार १५० मिटर सडक निर्माण गर्ने भारतको योजना छ । यस्तै तटबन्ध छेउमा टनकपुर ब्यारेज क्षेत्रमा करीब एक हजार ३०० मिटर सडक बनाउँदैछ ।