रवीन्द्र मिश्रलाई पितृशोक

२३ श्रावण २०७५, बुधबार १०:५८

साउन २३, काठमाडौं ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ ।

मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए । मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ समेत प्रकाशित छ ।

कान्छो छोरा विदेशबाट आएपछि अन्त्येष्टि गरिने बताइएकाे छ । दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।