डकैतीको अनौठो घटना, बन्दुक तेर्स्याएर लुटे कपाल र २५ लाख भारु

२२ श्रावण २०७५, मंगलवार १५:५२

साउन २२, काठमाडौं । एजेन्सी

भारतको दिल्लीमा कपाल डकैतीको अनौठो घटना सार्वजनिक भएको छ । मुडुला मान्छेका लागि विग बनाउने एक व्यापारीबाट २५ लाख भारुबराबरको कपाल हतियार देखाएर लुटिएको छ ।

यस्ता कपाल तिरुपति बालाजी र अन्य ठाउँबाट किनेर ल्याइन्छ । डकैतीको यो मुद्दा दर्ता गरेर प्रहरीले दुई आरोपितलाई पक्राउ पनि गरेको छ र कपाल तथा एक पिस्तोल पनि बरामद गरेको छ ।

चार अन्य आरोपितको खोजी जारी छ ।

डीसीपी सेजु पी कुरुभिलाका अनुसार, जहाँगीर हुसैन आफ्ना भाइ ताजुद्दीनका साथ नाङलोई एक्सटेन्सनमा बस्छन् । उनी कपाल तिरुपति बालाजीबाट किनेर ल्याउँछन् र विग बनाउँछन् । उनैले साउन ११ गते फोन गरेर डकैतीको जानकारी दिए ।

छानबिन गर्दा पाँच हतियारधारी व्यक्ति आएर पिस्तोल देखाउँदै दुई दाजुभाइलाई बन्धक बनाएर पहिला बेस्सरी पिटे । अनि उनीहरूलाई एक कोठामा बन्द गरेर विग र विग बनाउनका लागि राखेको २३० किलो कपाल र ३० हजार भारु अनि
दुई मोबाइल लुटेर लगे ।

जहाँगीरले प्रहरीलाई बताएअनुसार, लुटपाट गर्नुभन्दा एक दिनअघि डकैतहरू आएका थिए र विग मन पराएर भरे बेलुका आउँछौं भनेका थिए । तर उनीहरू बेलुका फर्किएर आएनन् ।

भोलिपल्ट बिहान आउनुअघि उनीहरूले फोन गरे । केस दर्ता गरेर नाङ्लोई एसएचओ सुनिल कुमार र उनको टोलीले केसको अनुसन्धान शुरू गर्दै डकैतको नम्बरलाई सर्भेलेन्समा राख्यो । प्राविधिक अनुसन्धानपछि उत्तर प्रदेश निवासी मंगलसेनलाई पक्राउ गरियो ।