‘वास्तविकता चाहिँ अहिलेको संसारमा अमेरिका एक्लिएको छ ।’ : परराष्ट्रमन्त्री जरीफ

२२ श्रावण २०७५, मंगलवार १५:२०

साउन २२, काठमाडौं । एजेन्सी

देशमा राजनीतिक उथलपुथल चल्दै गर्दा इरानमाथि फेरि प्रतिबन्ध लगाउने घोषणा गरेर अमेरिका विश्वबाट अलग्गिएको इरानले सोमवार बताएको छ ।

अर्धसरकारी समाचार संस्था आईएसएनएका अनुसार, परराष्ट्रमन्त्री मोहम्मद जावद जरीफले पत्रकारहरूलाई बताए, ‘अमेरिकाले धम्क्याएर अनि राजनीतिक दबाब दिएर केही व्यवधान उत्पन्न गर्न सक्छ तर वास्तविकता चाहिँ अहिलेको संसारमा अमेरिका एक्लिएको छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१५ को आणविक सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमा प्रतिबन्ध लगाएका छन् । तर ट्रम्पले अमेरिका इरानसँग नयाँ सम्झौताका लागि तयार रहेको पनि बताएका छन् ।

युरोपेली संघकी राजनीति प्रमुख फेडेरिया मोगेरिनीले एक बयान जारी गर्दै भनिन्, ‘अमेरिकाले इरानमाथि फेरि प्रतिबन्ध लगाउन तयार रहनु गहिरो खेदको कुरा हो ।’

बयानमा बेलायत, फ्रान्स र जर्मनीका परराष्ट्रमन्त्रीको पनि हस्ताक्षर छ ।

इरानमाथिको ताजा प्रतिबन्ध दुई चरणमा मंगलवार र नोभेम्बर ५ तारिखमा लगाइनेछ ।

अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पिओले इरानमाथि फेरि लगाइएको प्रतिबन्धलाई कडाइका साथ लागू गरिने बताएका छन् ।