ओसामा बिन लादेनका छोराले गरे बिहे

२२ श्रावण २०७५, मंगलवार १४:५८

साउन २२, काठमाडौं । एजेन्सी

आतंकवादी संगठन अल–कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले बिहे गरेका छन् । उनले न्युयोर्कमा भएको ९÷११ आक्रमणका लागि विमान अपहरण गर्ने मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेका हुन् ।

लादेनको परिवारले यसलाई पुष्टि गरेको छ ।

लादेनका सौतेनी भाइहरूले द गार्डियन पत्रिकालाई दिएको अन्तर्वार्तामा यो बिहेको उल्लेख गरेका छन् ।

अहमद र हसन अल–अत्तासले हमजा अब अल–कायदाको निकै माथि पदमा पुगेको र पिताको मृत्युको बदला लिने सुरमा रहेको बताएका छन् ।

सात वर्षअघि अमेरिकाले पाकिस्तानमा ओसामा बिन लादेनलाई मारेको थियो ।

हमजा ओसामाका बाँचेका तीन श्रीमतीमध्ये एकका छोरा हुन् । ती श्रीमती अमेरिकी आक्रमणका बेलामा ओसामासँगै अब्बोटाबादमा थिइन् ।

अहमदले भने, ‘हमजाले मोहम्मद अट्टाकी छोरीसँग बिहे गरेको हामीले सुनेका छौं । ठ्याक्कै कहाँ बिहे भएको थाहा छैन तर अफगानिस्तानमा हुनुपर्छ ।’

हमजाकी पत्नी इजिप्टकी नागरिक भएको बताइन्छ ।

लादेन मारिएपछि उनका पत्नी र बच्चाहरू साउदी अरब फर्किएका थिए । उनीहरूलाई पूर्वयुवराज मोहम्मद बिन नायेफले शरण दिएका थिए । लादेनका पत्नी र सन्तान लादेनकी आमा आलिया घानेमसँग सम्पर्कमा रहिरहे ।

लादेनकी आमाले पहिलोपटक अन्तर्वार्ता दिँदै लादेन एक राम्रो युवक रहेको बताएकी थिइन् । पछि कुसंगतमा उनी बिग्रिएको आमाको दाबी छ । सन् १९९९ पछि लादेन सम्पर्कमा नआएको परिवारको दाबी छ ।