साउन २१, काठमाडौं । एजेन्सी
भारतको उडिसामा माओवाद प्रभावित मलकानगिरी जिल्लामा एउटा पुलले मानिसको जिन्दगी परिवर्तन गरिरहेको छ । साउन १० गते त्यहाँ गुरुप्रिया पुल उद्घाटन गरिएको थियो ।
एक परियोजनाका कारण ५० वर्षदेखि १५१ गाउँहरू मलकानगिरीबाट जमीनको बाटो भएर सम्पर्क गर्न सकिरहेका थिएनन् । तर यो पुलका कारण यी गाउँहरू जिल्लासँग जोडिएका छन् ।
यसबाट एक मोस्ट वान्टेड माओवादी जोडीलाई हतियार त्यागेर मूलधारमा आउन प्रेरित गरेको छ ।
वागा उर्ममि तथा उनकी २० वर्षीया पत्नी मधिले जंतापाईमा पुलको सुरक्षाका लागि बनाइएको शिविर र त्यसको उद्घाटनभन्दा अघि भएको कम्बिङ अप्रेसनले दुवैलाई साउन १३ गते हतियार छोड्न प्रेरित गरेको हो ।
हतियार छोड्नुअघि उर्ममि उर्फ मुकेश र मधि उर्फ मेसी दुवै मोस्ट वान्टेड माओवादी थिए । उनीहरूलाई खोज्ने मानिसलाई पाँच लाख भारुको पुरस्कार राखिएको थियो ।
उर्ममिलाई प्रहरीले २६ वटा घटनामा आरोपित मानेर खोजी गरिरहेको थियो । तिनमा सात हत्या र ज्यान मार्ने उद्योगको मुद्दा थियो ।
अहिले उनीहरू दुवैजना माओवादी शिविरबाहिरको जिन्दगी बिताउनका लागि प्रयास गरिरहेका छन् र विगत १० वर्षमा जंगलमा बिताएका क्षणहरू सम्झिरहेका छन् ।
माओवादीको क्षेत्रीय कमिटीका पूर्व सदस्य उर्ममि भन्छन्, ‘जंगलमा जिन्दगी बडो कष्टकर थियो । मैले गरीबका लागि काम गरिरहेको भन्ने गलत सोचका साथ जीवनका बहुमूल्य १० वर्ष बिताएँ ।’
सन् २००८ मा माओवादी पार्टी प्रवेश गरेका उर्ममिले भने, ‘माओवादीहरू हाम्रो गाउँ मरिगेट्टामा आइरहन्थे । उनीहरूले भन्दा भन्दा म माओवादी पार्टी प्रवेश गरें ।’
उर्ममि किसान परिवारका हुन् । चार दाजुभाइ र दुई दिदीबहिनीमा उनी माइला हुन् । उनी जम्मा १६ वर्षको हुँदा कलिमेला लोकल गुरिल्ला स्क्वाड ज्वाइन गरे । उनी कहिल्यै विद्यालय गएनन् ।
उनले भने, ‘शिवरको जीवन कठिन थियो । हामीले बिहान ४ बजे उठिसक्नुपर्थ्यो । हामी कुनै पनि ठाउँमा एक दिनभन्दा बढी बस्न पाउँदैनथियौं । माओवादीहरूले हाम्रो समय गाउँ र जंगलका लागि छुट्ट्याइदिएका थिए । गाउँलेहरू
हामीलाई भोजन र शरण दिन अस्वीकार गर्न सक्दैनथिए ।’
उर्ममिले गुरिल्लाका रूपमा अनुभव बढाउँदै जाँदा एरिया कमिटी सदस्य बने र एस्एलआरआई र इन्सास राइफल बोक्न थाले ।
सन् २०१६ को २४ अक्टोबरमा रमागुडा भिडन्तपछि माओवादीहरूको अवस्था बदलियो । त्यसमा ३० माओवादीको ज्यान गयो । मधिले भने, ‘हाम्रो पूरा संगठन यो घटनापछि हतोत्साहित भयो ।’
नियमित आय नहुनु पनि उनको आत्मसमर्पणको एक कारण बन्यो । उर्ममि भन्छन्, ‘हामीलाई कहिले पनि कामको पैसा दिइँदैनथियो । हामलिे सित्तेमा खाना र कपडा पाउँथ्यौं । गाउँमा बैठक गराउनका लागि एकदेखि दुई हजार भारु
दिइन्थ्यो ।’
मधिले भनिन्, ‘हाम्रो पार्टीमा कुनै विचारधारा बाँकी रहेन । त्यसैले हामीले जंगलको जीवन छोड्ने निर्णय ग–यौं । हामी कैयौं महिनादेखि आत्मसमर्पण गर्ने सोच राखिरहेका थियौं तर यसका लागि अवसर चाहिन्थ्यो । हामीले आफ्ना कमरेड
साथीहरूलाई केही दिनका लागि गाउँ जाने बतायौं । हामी लामो समयदेखि संगठनमा जोडिएकाले कसैले पनि हामीलाई शंका गरेनन् ।’
उर्ममि अब मधिका साथ आफ्नो गाउँ मरिगेट्टा फर्कन चाहन्छन् । सरकारबाट के अपेक्षा छ भनी सोध्दा उनले भने, ‘हामी आत्मसम्मान र इज्जतका साथ नयाँ जिन्दगी बाँच्न चाहन्छौं ।’