स्वीकारे ट्रम्प जुनियरले राष्ट्रपति निर्वाचनअघि एक रुसी वकिललाई भेटेको कुरा

२१ श्रावण २०७५, सोमबार १४:०७

साउन २१, काठमाडौं । एजेन्सी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक आफ्नो छोरो ट्रम्प जुनियरले राष्ट्रपति निर्वाचनअघि एक रुसी वकिललाई भेटेको कुरा स्वीकारेका छन् । न्युयोर्कस्थित ट्रम्प टावरमा जुन २०१६ मा विपक्षका एक उम्मेदवारको जानकारी प्राप्त गर्नका लागि यो बैठक भएको थियो ।

ट्रम्पले ट्वीट गर्दै भने, ‘यसमा केही नयाँ कुरा छैन । कानूनी रूपमा यो सही थियो । राजनीतिमा यस्तो कुरा भइरहन्छ ।’ ट्रम्पले विपक्षी उम्मेदवारको कुरा गरेको हिलारी क्लिन्टनको हो भनिएको छ ।

अघिल्लो वर्ष न्युयोर्क टाइम्स पत्रिकाले छापेको खबरअनुसार ट्रम्प जुनियरले रुसी वकिल नतालिया वेसेलनित्सकायासँग भेटेका थिए । त्यसपछि नै अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा परिणाम प्रभावित गरेको आरोप डोनल्ड ट्रम्प र रुसमाथि लाग्यो ।

यसको अनुसन्धानका लागि कमिटी पनि बनाइएको छ । अमेरिकी जासूसी संस्थाहरू रुसले चुनावमा हस्तक्षेप गरेर परिणाम ट्रम्पको पक्षमा पार्ने कोशिश गरेको मान्छन् । तर ट्रम्प र रुस यसलाई अस्वीकार गर्दै आइरहेका छन् ।

एक दिनअघि अमेरिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, रुसी वकिलसँग भेटेकोमा डोनल्ड ट्रम्प जुनियर कानूनी झमेलामा फस्नसक्ने सम्भावना छ । यसबाट राष्ट्रपति ट्रम्प चिन्तामा रहेको पनि लेखिएको छ ।

जवाफमा ट्रम्पले आइतवार ट्वीट गरे, ‘म छोरोको बैठकका विषयमा चिन्तित छु भनी फेक न्युज मिडिया झुटो खबर फैलाइरहेको छ ।’

रुसी वकिलसँगको भेटघाटका सम्बन्धमा ट्रम्प जुनियरले बयान बदलिरहेका छन् । सन् २०१७ मा उनले नतालियासँगको भेटघाटमा उनको एजेन्डा राष्ट्रपतीय चुनाव नरहेको बताएका थिए । यो बैठक रुसी बच्चाहरूलाई धर्मपुत्र बनाउने कार्यक्रम बन्द भएको बारेमा थियो उनले भने ।

पछि चाहिँ उनले हिलारी क्लिन्टनसँग जोडिएका जानकारी उपलब्ध गराउने कुरा उठेकाले यो भेटघाटका लागि तयार भएको बताए ।

अमेरिकी चुनावमा नेताहरूले विपक्षीको जानकारी जुटाउनु सामान्य कुरा हो तर कानूनी जानकारहरूका अनुसार निर्वाचन अभियानमा अर्को देशको प्रतिनिधिसँग ट्रम्प जुनियरले भेटेर अमेरिकी कानून तोडेका हुन् । निर्वाचन अभियानसँग जोडिएको कुनै पनि व्यक्तिले विदेशीसँग सहायता वा जानकारी लिन पाउँदैन ।

तर ट्रम्पका वकिलहरूले यो बैठकमा हिलारीलाई हानि पु–याउने कुनै पनि जानकारी नपाइएको जिकिर गर्दै आएका छन् ।