साउन २१, काठमाडौं । एजेन्सी
आफ्ना अनौठा बयानहरूका कारण प्रायः चर्चामा रहने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको आश्चर्यजनक निर्देशन अहिले चर्चामा छ ।
राष्ट्रपतिको निर्देशनमा फिलिपिन्सको कागायन प्रान्तमा ७६ वटा विलासी गाडी र मोटरसाइकलमा बुलडोजर चलाइयो । यी वाहनहरूको मूल्य ५५ लाख डलर थियो ।
यी वाहनहरू नष्ट गर्दाखेरी राष्ट्रपति डुटेर्टे आफैं उपस्थित थिए । राष्ट्रपतिको यो निर्देशन भ्रष्टाचार तथा आपराधिक गतिविधिका विरुद्ध कडा नीतिका रूपमा हेरिएको छ ।
ती वाहनमा पोर्शे, ल्याम्बोर्गिनी, मर्सिडिन बेन्ज र हार्ले डेभिडसन छन् । ती वाहनलाई देशमा तस्करीमार्फत भित्र्याइएको थियो र अधिकारीहरूले बरामद गरेका थिए ।
सन् २०१६ मा राष्ट्रपति बनेदेखि डुटेर्टेले भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका छन् । यसअघि फेब्रुअरी महिनामा पनि डुटेर्टेकै आदेशमा ३० विलासी गाडीलाई नष्ट गरिएको थियो ।
(हेर्नुस् भिडियो)
