सर्वोच्च अदालतमा मिश्रले तोके पेशी

२० श्रावण २०७५, आईतवार १४:१८

साउन २०, काठमाडौं ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएपनि संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएर कायममुकायम दीपकराज जोशी १५ दिने विदामा बसेपछि आइतवार सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोकेका छन् ।

मिश्रले सहायक कायममुकायम प्रधान्यायाधीशको हैसियतमा आइतवार पेशी तोकेका हुन् । सर्वोच्चका ९ इजलाशमा मिश्रले आफू र न्यायाधीश वमकुमार श्रेष्ठको पूर्ण इजलाश तोकेका छन् ।

मिश्रले केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको एकल बाहेक अन्य ६ वटा संयुक्त इजलाश तोकेका छन् । मिश्रले आफूसहितको पूर्ण इजलाशमा ४२ वटा रिट तथा निवेदनको पेशी तोकेका छन् । शुक्रवारसम्म कायमुकायम प्रधानन्यायाधीशको रुपमा दीपकराज जोशीले नै पेशी तोकेका थिए ।

शुक्रवार बसेको संसदीय सुनुवाइ विशेष समितिको वैठकले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेपछि उनी आइतवारदेखि विदामा बसेका हुन् ।

जोशीले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटि १५ दिन विदामा बस्ने जानकारी गराएका हुन् । जोशी विदामा बसेपछि मिश्रले आइतवारदेखि सहायक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।