गोरखामा पहिरो, ७२ घरधुरी जोखिममा

२० श्रावण २०७५, आईतवार १३:५५

साउन २०, काठमाडौं ।

पहिरोका कारण गोरखाको धार्चे गाउँपालिका-७ लापुस्थित खानीगाउँका ७२ घरधुरी जोखिममा परेका छन् ।

अविरल वर्षका कारण आइतबार बिहान बस्ती नजिकैको जङगाङ डाँडामा पहिरो जाँदा जोखिम बढेको हो ।

पहिरो गाउँ नजिकै पुगेपछि ११ घरधुरी भने बिस्थापित भइसकेको स्थानीय सुशील गुरुङले बताए ।

विस्थापित भएका ११ घरधुरीका मानिसहरु आफन्तको शरणमा गएको उनले जानकारी दिए । वर्षातका कारण धाजा फाटेको जमिनमा पानी छिरेर वस्ती नै भासिन सक्ने जोखिम रहेको वडाध्यक्ष सूर्यमान गुरुङले बताए ।

विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो गएको ठाउँमा प्रहरी टोलि पठाइएको बताए ।