कर्मचारी युनियनले प्रतिष्ठानका विभिन्न तीन शाखामा गरे तालाबन्दी

१८ श्रावण २०७५, शुक्रबार १७:२०

साउन १८, काठमाडौं ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) कर्मचारी युनियनले प्रतिष्ठानका विभिन्न तीन शाखामा तालाबन्दी गरेको छ ।

युनियनले आफ्ना माग पूरा नगरी नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गरेको भन्दै अस्पतालको प्रशासन शाखा, उपकुलपतिको कार्यालय र प्रतिष्ठान निर्देशकको कार्यालयमा तालाबन्दी गरेको हो ।

ताल्चा लगाउने क्रममा प्रहरीले केहिबेर रोक्ने प्रयास गरेपनि कर्मचारीहरुले प्रहरीको रोक्ने प्रयास विफल पार्दै ताला लगाएका थिए ।

युनियनका अध्यक्ष ढाका कुमार श्रेष्ठको नेतृत्वमा गएको एक समूहले तीनवटै कार्यालयमा ताल्चा लगाउँदै अनिश्चितकालका लागि बन्द गरेको विज्ञप्ति टाँसेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘युनियनको तर्फबाट पटक-पटक दिइएको ज्ञापनपत्रको विषयमा कुनैपनि सुनुवाई नभएको हुँदा यही साउन १८ गतेदेखि उपकुलपति कार्यालय, निर्देशक कार्यालय र प्रतिष्ठानको प्रशासन शाखा अनिश्चितकालीन बन्द गरिएको जानकारी गराइन्छ ।’

तालाबन्दी गरेपछि युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठले आफूहरुको माग बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दीमा उत्रिनुपरेको बताए ।

प्रशासनले ऐन मिचेर थप कर्मचारी नियुक्त गर्नका लागि सिफारिस गरेको भन्दै उनले भने, ‘अहिले ऐन मिचेर कर्मचारी नियुक्तीका लागि कुलपतिको कार्यालयमा सिफारिस गरिएको छ, तर यसरी प्रशासनले सिधै कर्मचारी नियुक्त गर्न पाउँदैन ।’