साउन १७, काठमाडौं ।
दलितमैत्री गरिवी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै सयौजनालाई ठगी गरेको आरोपमा प्रहरी तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेकाहरुलाई सार्वनिक गरेको हो ।
पक्राउ परेकाहरुमा कैलालीको गोदावरी नगरपालिका ५ गेटाकी कल्पना वोगटी (३२), कंचनपुर कृष्णपुर नगरपालिका ८ की दुर्गा भट्ट (२२) र सोही ठाउँकी सुनिता भण्डारी (२३) रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनले पक्राउ परेका महिलाहरुले १८१ जनाबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको बताए ।
कैलाली जिल्लाको विभिन्न स्थानमा दलितमैत्री गरिबी निवारण (फेडो)को आफू सहजकर्ता भएको भन्दै कैलाली जिल्लाको गौरिगंगा नगरपालिाकाको १, २ र ३ वडामा, धनगढी उपामहानगरपालिकाको १४ र १८ वडामा र कञ्चनपुर जिल्लाको कृष्णपुर ८ का विभिन्न वडाहरुमा गइ गाउँगाउँमा १० देखि ३५ जनाको समूह गठन गरी प्रतिव्यक्ति फारमवापतको रकम भन्दै पाँचसय र कुखुरा पालनको धरौटी वाफत एकहजार रुपैयाँ लिने गरेका थिए ।
त्यस्तै बाख्रा पालनमा तीन हजार, भैसी पालनमा ५ हजार रुपैयाँ धरौटी माग गरी थप ब्यूटिपार्लर र सिलाइकटाइको कार्यक्रमसमेत ल्याउने भन्दै सोझा गाउले महिलाहरुलाई ठगी गर्दै आएका थिए ।
