कामु प्रधानन्यायाधीश जोशीले तोके आफ्ना लागि पेशी

१५ श्रावण २०७५, मंगलवार १३:०६

साउन १५, काठमाडौं ।

गत बिहीवार संसदीय सुनवाइ विशेष समितिमा सुनुवाइका लागि उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश तथा कामु प्रधान्यायाधीश दीपकराज जोशीले ६ दिनपछि मंगलवार सर्वोच्च अदालतमा आफ्ना लागि पनि पेशी तोकेका छन् ।

बिहीवार संसदीय सुनुवाइमा उपस्थित हुनुपर्ने भएकाले जोशीले आफ्ना लागि पेशी तोकेका थिएनन् । त्यसपछि उनी शुक्रवार, आइतवार र सोमवार पनि अदालतमा आएनन् ।

संसदीय सुनुवाइ विशेष समितिले जोशीको सुनुवाइ सकेपनि निर्णय भने सुनाएको छैन ।

जोशीले गरेका फैसला र एसएलसीको प्रमाणपत्रका विषयमा उठेको विवादका कारण सुनुवाइ समितिले जोशीको अनुमोदन सोमवारसम्म गर्न सकेको छैन । सुनुवाइ समितिको अर्काे बैठक बुधबार दिउँसो साढे ३ बजे बस्ने गरी तय भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा दुईतिहाइ बहुमत रहेको सत्तापक्ष आफ्नो नाम अनुमोदन नगर्ने पक्षमा चर्चा चलेपछि जोशी सर्वोच्चमा उपस्थित भएका थिएनन् । उनले शुक्रवार, आइतवार र सोमवार घरबाटै पेशी तोकेका थिए । मंगलवार भने उनले सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतसँग संयुक्त इजलाश तोकेका छन् । जोशी र सिंहको मंगलवारको इजलाशमा २ रिट निवेदनसहित १६ वटा मुद्दा पेशीमा छन् ।