अर्को वर्षदेखि नेपालको वर्षायामको बढी हुने बिजुली भारत निर्यात गरिने

१४ श्रावण २०७५, सोमबार १६:१७

साउन १४, काठमाडौं ।

तीन वर्षअघिसम्म मध्यवर्षाकै समयमा पनि लोडसेडिङ हुन्थ्यो । तर, छोटो समयमै बर्षाको समयमा नै नेपालमा बिजुली बढी भएर खेर जाने अवस्था आएको छ । हाल देशभर लोडसेडिङ हटिसकेको छ । यो वर्षको मध्यवर्षामा रातको समयमा नेपालको ३० देखि ४० मेगावाट बिजुली खेर जाने अवस्था आएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार भारतसँग अघि बढाइएको ‘इनर्जी बैकिङ’मा सहमति भएको भए रातमा ४० मेगावाटसम्म बिजुली यो वर्षायामभरि भारतमा पठाउन सकिन्थ्यो । तर, इनर्जी बैंकिङमा सहमति जुटेर सरकारी स्तरमा सम्झौता हुन बाँकी छ ।

त्यसकारण नेपाललाई बढी हुने समय (वर्षा) मा बिजुली भारत पठाउने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङको योजना यो वर्ष सफल हुन सकेन ।

तर, छलफल अघि बढेकाले आगामी वर्षाबाट भारतमा बिजुली निकासी सुरु हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । भारतसँग इनर्जी बैकिङमा सहमति भएपछि अर्को वर्षबाट बर्षमा ठूलौ मात्रामा बिजुली भारत पठाउन सकिने अवस्था आउने उनले बताए ।

भारतबाट वर्षायाममा पिक आवर (विहान र बेलुकी) मा २ सय मेगावाटसम्म बिजुली आयात हुन्छ । तर, मध्यरातको समयमा नेपालमा बिजुलीको माग ह्वात्तै घट्छ । यदि इनर्जी बैंकिङ सुरु भएको भए यसै वर्षबाट माग घटेको समयमा नेपालले बिजुली भारत पठाउन सक्ने अधिकारी बताउँछन् ।

अर्को वर्षको बर्खायामसम्म ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि सञ्चालनमा आइसक्ने भएकाले ‘इनर्जी बैंकिङ’ अनिवार्य देखिएको उनको जिकीर छ ।

के हो इनर्जी बैंकिङ ?

‘इनर्जी बैंकिङ’ वर्षायाममा उत्पादित बिजुली भारत निर्यात् गर्ने र सुख्खामा उताबाट लिने अवधारणा हो ।

नेपालका अधिकांश जलविद्युत् आयोजना ‘रन अफ दी रिभर’ प्रणालीमा छन् । वर्षायाममा पूर्ण क्षमतामा उत्पादन हुन्छ, हिउँदमा पानीको बहाव घट्छ र एकतिहाइ मात्र उत्पादन हुन्छ । सुख्खायाममा यहाँ चरम विद्युत् अभाव हुन्छ, भारतबाट ५ सय मेगावाटसम्म आयात गर्नुपर्छ ।

तर, नेपालमा वर्षा मौसममा बिजुलीको उत्पादन बढी हुन्छ । भारतमा भने गर्मी छल्न पंखा, कुलर, एसीलगायत प्रयोग गरिँदा माग अत्यधिक बढ्छ । सिचाइँका लागि मोटर चलाइने मौसम भएकाले पनि त्यहाँको अत्यधिक विद्युत् खपत हुने सिजन नै वर्षायाम हो ।

यही चक्रलाई व्यवस्थापन गर्दा दुवै मुलुकमा बिजुलीको उपलब्धता पनि सहज हुने विश्वासका साथ इनर्जी बैंकिङमाथि छलफल भएका छन् ।

निजी कम्पनीकै इच्छा

अहिलेसम्म यो प्रसारणलाइनबाट १२० मेगावाट मात्रै बिजुली नेपाल आइरहेको थियो । यस्तो अवस्थामा हिउँदमा थप बिजुली ल्याउन र बर्षामा खेर जाने बिजुली पठाउन प्राविधिक रुपमा पनि सहज हुने उनको भनाइ छ ।

अधिकारीले अहिले पनि निजी क्षत्रेबाट बर्षायाममा बढी हुने बिजुली नेपालबाट खरिद गर्न भारतका निजी तवरका ट्रेडिङ कम्पनीले इच्छा देखाएका छन् । तर, सरकारी स्तरमा बिजुली बैंकिङको सहमति हुन बाँकी रहेकाले बिजुली नदिइएको उनले बताए ।