साउन १४, काठमाडौं । एजेन्सी
अर्जेन्टिनाको मरुभूमिमा विशालकाय एन्टेना र चम्किलो टावर तथा खुला आकाशमा ४५० टन तौल भएको डिभाइसले विदेशी भूमिमा चीनको कथा बयान गर्छ ।
चीनको सेनाले बनाएको स्पेस मिसन कन्ट्रोल स्टेसन हो यो । दक्षिण अमेरिकामा बनेको यो केन्द्र चिनियाँ स्याटेलाइटको प्रमुख केन्द्र पनि हो ।
बेइजिङले दक्षिण अमेरिकामा प्रभाव बढाइरहँदा अमेरिकाको राजनीतिक, आर्थिक र सामरिक शक्तिलाई चुनौती दिइरहेको अनुभव हुन्छ ।
यो स्टेसनले मार्च महिनादेखि काम शुरू गरेको हो र चीनको स्पेस मिसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अर्जेन्टिनाका अधिकारीहरू चीनको अभियानमा सहयोग गर्न तत्पर छन् ।
अर्जेन्टिनामा आर्थिक समस्या परिरहेकाले विदेशी लगानी आवश्यक भइरहेको थियो । त्यसैले उसले चिनियाँ सहायता भित्र्यायो । तर चीन र अर्जेन्टिनाबीच गोप्य सम्झौता गरिँदा शंका पनि उत्पन्न भएको छ ।
चीनले गोप्य सूचनाहरू जुटाउने क्षमता यसबाट बढ्ने भनी चिन्ता प्रकट गरिएको छ । अर्जेन्टिनामा चीनको उपस्थितिले खतरा निम्त्याउने हो कि भनी आशंका व्यक्त गरिएका छन् ।
यूएस आर्मी वार कलेजमा ल्याटिन अमेरिकन स्टडीजका प्राध्यापक आर इभान एलिसले भने, ‘चीनले अर्थव्यवस्था, राजनीति र सुरक्षाको क्षेत्रमा दक्षिण अमेरिकाका नेता र व्यापारीलाई आफ्नो एजेन्डामा हिँडाएर उक्त क्षेत्रको डाइनामिक नै बदलेको छ ।’
विगत एक दशकयता अमेरिकाले आफूनजिकका देशमा कम ध्यान दिएको छ भने एसियामा बढी फोकस गरेको छ ।
खास गरी ओबामा प्रशासनले चीनसँगको भिडन्तको रणनीतिअन्तर्गत एसियाली मुलुकहरूसँग आर्थिक, सैन्य तथा कूटनीतिक सम्बन्ध बलियो बनाए । उता सत्तासीन भएपछि ट्रम्प प्रशासनले प्रशान्त महासागरीय देशहरूसँग खुला व्यापार
सम्झौताबाट दूरी बनाए र विश्वव्यापी व्यापार युद्ध शुरू गरे । ट्रम्प सरकार एसिया र संसारका अन्य क्षेत्रमा सहयोगीहरूको सुरक्षा गर्नुपर्दा अमेरिकामाथि बोझ बढेको बताउँछ ।
उता चीन चाहिँ चतुरताका साथ दक्षिण अमेरिकासम्म पुग्न सफल भएको छ । उसले आफ्नो व्यापार विस्तार गरेको छ, अनेकौं सरकारलाई आर्थिक संकटबाट जोगाएको छ, ठूला संरचनागत परियोजनाहरू आरम्भ गरेको छ, सैन्य सम्बन्ध
बलियो बनाएको छ र ठूलो मात्रामा संसाधनहरूमाथि दाबी गरेको छ ।
दक्षिण अमेरिकाका केही भागमा हालैको समयमा राजनीतिक परिवर्तन पनि देखिएको छ र त्यस क्षेत्रका देशका नेताहरूले चीनको माग पूरा गर्न आफ्ना नीतिहरूमा परिवर्तन पनि ल्याएका छन् । बेइजिङले उक्त क्षेत्रका धेरै देशमा प्रभाव पारेको छ ।
चीन र दक्षिण अमेरिकी देशहरूबीचको व्यापार अघिल्लो वर्ष २४४ अर्ब डलर पुगेको थियो । यो अघिल्लो दशकको तुलनामा दुईगुणाभन्दा पनि धेरै हो ।
अमेरिकालाई पछि पार्दै चीन सन् २०१५ देखि दक्षिण अमेरिकाको शीर्ष व्यापारिक साझेदार बनिसकेको छ । ध्यान दिनुपर्ने कुरा के हो भने चीनले यो क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ र बदलामा उक्त क्षेत्रको ठूला भागको तेलमा वर्षौंसम्मका लागि दाबी गरेको छ । इक्वेडरको करीब ९० प्रतिशत तेल भण्डार यसमा समाविष्ट छ ।
चीनले भेनेजुएला र ब्राजिलजस्ता देशका संकटग्रस्त सरकारी कम्पनीलाई उतार्नका लागि धेरै सहायता गरेको छ । अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय क्रेडिट मार्केट्सको ढोका बन्द हुँदा चीनले सहायता गरेको थियो । सहायतासँगै चीनले गोप्य सम्झौता गरेर प्याटागोनियामा बनेको स्याटलाइट र स्पेस कन्ट्रोल स्टेसन हात पारेको छ ।
