साउन १३, काठमाडौं ।
विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ ।
सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहे पनि सडकमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं पार्टीको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले व्यक्तिगत हैसियतमा सहजीकरण गरेकामा त्यसबारे गलत सन्देश प्रवाह गरिएको दाबी गरे ।
“वार्ता र सहमतिका लागि हाम्रो पार्टीको कुनै अडान थिएन । हामीले पार्टीको व्यानर लिएर सडकमा गएका पनि थिएनौँ । यस्ता विषयलाई राजनीतिक लाभका रुपमा कुनै पनि दलले उपयोग गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ ।”
