सरकार र डाक्टर केसीका प्रतिनिधिबीचको वार्ता स्थगित

९ श्रावण २०७५, बुधबार १६:२५

साउन ९, काठमाडौं ।

सरकार र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता १ घण्टाका लागि स्थगित भएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्ता १ घण्टाका लागि स्थगित गरेर डा. केसी पक्षको वार्ता टोली मन्त्रालयबाट बाहिरिएको छ । बाहिरिने क्रममा वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले सरकारी पक्ष चिकित्सा शिक्षा विधेयकमा लचक नभएको आरोप लगाए ।

सरकारी टोलीले परामर्शका लागि भन्दै समय मागेपछि वार्ता १ घण्टाका लागि स्थगित गरिएको उनले बताए । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, सह–सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सह–सचिव गुणराज लोहनी उपस्थित थिए ।

डा. केसीको तर्फबाट डा. अभिषेकराज सिंहको नेतृत्वमा डा. जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानून व्यवसायी सुरेन्द्र भण्डारी, डा. सुमित पाण्डे सहभागी थिए ।

माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने लगायतका मागसहित डा. केसीले अनशन शुरु गरेको २६ दिन बितिसकेको छ ।