साउन ६, काठमाडौं ।
पाल्पा बगनाशकाली गाउँपालिका भित्रका किसानहरूले तरकारी तथा फलफुल बिक्री गरेर वार्षिक रुपमा एक करोड २० लाख आम्दानी गर्न सफल भएका छन् ।
आर्थिक वर्ष ०७४ / ०७५ मा गाउँपालिकाले कृषि क्षेत्रमा गरेको ४४ लाख रूपियाँ लगानीले यहाँका किसानले १ करोड २० लाख रूपियाँ तरकारी बिक्रीबाट आम्दानी लिन सफल भएका हुन् ।
बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले यहाँका किसानले राम्रो आम्दानी गरेको बताए ।
टमाटर, च्याउ, कूरिलो, गाँजर, सूर्यमुखी, खुर्सानी, आलु लगायतका खेतीबाट बगनासकाली गाउँपालिकाका किसानले राम्रो फाइदा लिन सकेका छन् । अर्यालले गहु उत्पादनबाट रू २० लाख, मकै उत्पादनबाट १२ लाख सबै वडाहरूमा संचालित ब्यावसाहिक तरकारी खेतीबाट १५ लाख आम्दानी भएको जानकारी दिए ।
तोरी खेती, मौरी गोला बिस्तार लगायतका क्षेत्रहरूबाट समेत आम्दानी सोचे अनुरूप भएको उनको भनाई छ ।
ब्यवसायिक बर्षे टमाटर रोपणको लागि अनुदानमा प्लाष्टिक बितरण गरी ३ बाली लिन सफल भएको, अनुदानमा मिनिटिलर बितरण गरी २५ जना कृषकहरूलाई संचालन गर्न सक्षम बनाईएको, कूरिलो तथा खरबुजाको परिक्षण उचित रहेको, तिनतले खेतिमा आधुनिक खेति बिस्तारमा सफल भएको गाउँपालिकाको दावी छ ।
यस्तै सुन्तलाको पकेट क्षेत्र निर्माण गर्ने उद्देश्यले ९ हजार सुन्तलाका फलफुल बिरूवा ३० हेक्टर क्षेत्रफल जमिनमा बिस्तार गरिएको, ब्यवसाहिक केरा बगैचा निर्माण गर्न लागिएको र भूकम्प पीडितका लागी पक्की पोखरी निर्माण गरिदिनुका साथै युवा बर्गलाई ब्यवसायिक अदुवा खेतीतर्फ उन्मुख गराईएको छ ।
कृषि फर्म सञ्चालन तथा दर्ता गरी ५ लाख बराबरको आम्दानी लिन सफल भएको, १० वटा कृषक समूह दर्ता, वडास्तरिय कृषि संजालहरूको पुनर्गठन, १५ वटा ब्यवसायिक कृषि पकेट क्षेत्र बिस्तार, ८० जना कृषकहरूलाई उत्कृष्ट कृषकका रुपमा सम्मान, वार्षिक कृषि विकास तथ्याङ्क पुस्तिका तयार जस्ता कार्यहरू गरिएको प्रमूख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले बताए ।
यो चालु आ.वमा पनि किसान र पशुपालक किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा संचालन गरी व्यवसायिक उत्पादन गरी बजारको समेत प्रबर्द्धन गर्ने लक्ष्य रहेको अर्यालले बताए ।
पाल्पालाई आगामि दिनमा तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा लिन यहाँका किसान र स्थानीय जनप्रतिनिधी समेत लागेको पाईन्छ ।
