कुकुरले आफ्नो मालिकलाई सिंहबाट बचाए

६ श्रावण २०७५, आईतवार १३:४४

साउन ६, काठमाडौं । एजेन्सी

निस र कुकुरको साहचर्य सुप्रसिद्ध नै छ । कुकुरलाई नै मानिसको सबभन्दा राम्रो साथी मानिन्छ ।

भारतको गुजरात राज्यको सौराष्ट्र क्षेत्रमा रहेको अमरेली जिल्लाको सावरकुण्डला गाउँमा एक गोठालोमाथि तीन सिंहले आक्रमण गरे । यस्तो स्थितिमा गोठालोको कुकुरले ज्यान बचाइदियो ।

सिंहसँगको संघर्षमा भावेश हमीन भरवादलाई पिठ्युँ र हातमा हलुका चोट लागेको छ । संघर्षका क्रममा एक सिंहले भावेशलाई पञ्जाले तान्ने कोशिश गरेको थियो ।

भावेशलाई सरकारी अस्पतालमा उपचार गरियो । भावेशले अम्बार्दी गाउँको बाहिरी क्षेत्रमा भेडा र बाख्रा चराउँदै गर्दा यस्तो घटना भएको थियो ।

तीनवटा सिंह झ्याप्पै आए र भेडाहरूमाथि आक्रमण गरे । आक्रमणमा तीन भेडा मारिए । भावेशले सिंहबाट आफ्ना जनावर बचाउनका लागि प्रयास गर्दा उसैमाथि आक्रमण भयो ।

तर सिंहले आक्रमण गरेपछि भावेशको कुकुर लगातार भुक्न थाल्यो । कुकुर लगातार भुकेपछि गाउँलेहरू त्यहाँ पुगे ।

मानिसको ठूलो संख्या देखेर तीनै सिंह त्यहाँबाट भागे । गाउँलेहरूले वन विभागलाई सूचना दिए र विभागले सिंहको निगरानी गर्न थालेको छ ।

सौराष्ट्र क्षेत्रमा ठूलो संख्यामा एसियाली सिंह पाइन्छन् ।