काठमाडौँमा एमाले–माओवादी भागबण्डा लाउँदै; माओवादीले माग्यो ४, एमालेले ३ सिटभन्दा नदिने

२० आश्विन २०७४, शुक्रबार १२:४१

२० असोज, काठमाडौँ । दस निर्वाचन क्षेत्र रहेको काठमाडौँमा बामपन्थी गठबन्धनबीच भागबण्डा सुरु भएको छ । जसमा माओवादी केन्द्रले ४ सिट मागेको छ भने एमालेले ३ सिटभन्दा बढी नदिने बताएको समाचार छ ।

६० र ४० को अनुपातमा माओवादीले १० सिटमध्ये ४ सिट मागे पनि आफ्नो प्रभावका अन्य जिल्लामा थप सिट पाए धेरै जोडबल नगर्ने माओवादी स्रोत बताएको छ । माओवादीले काठमाडौँका १, ६, ८ र १० नम्बर क्षेत्रमा दाबी गरेको बताइएको छ । यसले एमालेमा भने खैलाबैला मच्चिएको बताइएको छ ।

एमाले स्रोतका अनुसार बढिमा ३ सिट छाड्नुपर्दा माओवादीलाई १, ६ र ८ छाड्न सकिनेछ । यद्यपी ६ नम्बर र १० नम्बर मध्ये कुन छाड्ने भन्ने बहस पनि एमालेभित्र चलेको बताइएको छ । ६ नम्बरबाट २ पटक झिनो मतले पराजित भएका योगेश भट्टराई ताप्लेजुङ गएपछि यहाँ एमालेका ठूला नेता छैनन् ।

जनमतको हिसाबले स्थानीय चुनावमा एमाले पहिलो पार्टी बनेको यो क्षेत्रबाट केशव स्थापित,योगेन्द्र संग्रौला लगायत दाबेदार छन् । माओवादी नेता हितमान शाक्य पनि यहि क्षेत्रबाट २०६४ मा निवार्चित भएकाले यसपटक पनि माओवादीले यहाँ दाबी गर्न सक्छ । १० नम्बर क्षेत्रमा एमालेका सुरेन्द्र मानन्धर सशक्त दाबेदार हुन् । २०७० मा प्रचण्ड तेस्रो हुँदा दोस्रो स्थानमा रहेका मानन्धरले यसबीचमा कीर्तिपुर नगरपालिका जिताएर आफ्नो अवस्था सुदृढ पारेका छन् ।

यसैबीच माधव नेपाल र इश्वर पोखरेल भने सर्वसम्मत रूपमा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस भएका छन् । नेता नेपाल २ नम्बर र महासचिव पोखरेल ५ नम्बर क्षेत्रबाट सिफारिस भएका हुन् ।