गाउँपालिकाले शुरु गर्‍यो ‘फ्रि’ वाइफाइ सेवा

४ श्रावण २०७५, शुक्रबार १६:३८

साउन ४, काठमाडौं ।

झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।

स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने र हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पुर्‍याइने गाउँपालिकाका सूचना अधिकृत थापाले बताए ।

‘अहिले हामी परीक्षणको चरणमा छौं’, सूचना अधिकृत थापा भन्छन्–“परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामासमेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।”