साउन २, काठमाडौं ।
रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ ।
वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका धर्मेन्द्रकुमार चौधरी र १९ वर्षका जियालाल महतो पक्राउ परेका हुन् ।उनीहरुले बालिकालाई वैशाख २४ गते मध्यरातमा अपहरण गरेर सर्लाही, पर्सा र भारतको मैनाटार भन्ने स्थानमा बन्धक बनाएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।
घरमै सुतेकी छोरीलाई बिहान ओछ्यानमा नदेखेपछि अभिभावकले छिमेकी बालिष्टर चौधरीसंग परिवारजनले सोधपुछ गरेका थिए । उनले छोरी भोलिसम्म घर फर्किन्छ कोही कसैलाई नभन्नू भनेको र भोलिपल्ट सोध्न जादा ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा उजुरी गरेको बालिकाका बाबुले बताएका छन् ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाले सार्वजनिक गरेको दिन मंगलबार बालिकाका बाबुले छोरी खोजतलास गर्दाको पीडा सु्नाएका थिए ।
तीनै जना विरुद्ध किटानी जाहेरी दिएर पटक पटक प्रहरीलाई कारवाही गर्न भन्दा पनि ठोस प्रमाण नभएको भन्दै अनुसन्धान प्रक्रियामा ढिलाई गरेको बालिकाका बाबुले गुनासो गरे । गाउँमा मेडिकल सञ्चालन गर्ने बालिष्टरले ती बालिकालाई विभिन्न बहानामा नजिक बनाएर प्रलोभनमा पारी जघन्य अपराध गरेकोले हदैसम्मको कारबाही गर्न परिवारले माग गरेको छ ।
प्रहरीले स्थानीय स्तरबाट अनुसन्धान गर्दा समेत पक्राउ परेका तीनै जनाको संलग्नता भएको प्रमाण फेला परेको र बालिष्टरको बाबु रामईश्वर चौधरीलाई पक्राउ गरेपछि बल्ल उनीहरु आफनो अभियोग स्वीकारेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए ।
