राष्ट्रपति भएपछि ट्रम्प र पुटिनले क-कसलाई फोन गरे ?

३२ असार २०७५, सोमबार ०७:५६

असार ३२,काठमाडौं ।

अमेरिकाको राष्ट्रपति भएपछि डोनल्ड ट्रम्पले ४० देशका नेताहरूलाई २०० भन्दा बढी फोन गरेका छन् । उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही अवधिमा ५० देशका नेतालाई १९० कल गरेका छन् ।

पुटिनले सबभन्दा धेरै २७ पटक टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्डोगानलाई फोन गरेका छन् ।

अनि ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई सबभन्दा धेरै २२ चोटि कल गरेका छन् ।

ट्रम्प र पुटिन आफैंले पनि एकअर्कासँग आठचोटि फोनमा कुरा गरेका छन् । ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै पुटिनले उनलाई फोन गरेर बधाई दिए । त्यतिखेर उनीहरूबीच एक घन्टा कुरा भएको थियो ।

ट्रम्पले बेलायतकी प्रधानमन्त्री टेरिजा मेलाई २२ चोटि, जापानका प्रधानमन्त्री शिन्जो आबेलाई १६ चोटि, दक्षिण कोरिायका राष्ट्रपति मून जे–इनलाई १५ चोटि र साउदी अरबका राजा सलमानलाई १२ चोटि फोन गरेका छन् ।

अनि पुटिनले एर्दोगानपछि कजाखास्तानका राष्ट्रपति नरसुल्तान नजरबाएभलाई १७ चोटि, फ्रान्सका म्याक्रोंलाई १४ चोटि, जर्मनीकी चान्सलर अंगेला मर्कललाई १३ चोटि र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ११ चोटि फोन गरेका छन् ।