दूध उत्पादन बढाउन कृत्रिम गर्भाधान विधि प्रयोग गर्ने

३२ असार २०७५, सोमबार ०७:१३

असार ३२,काठमाडौं ।

देवदह नगरपालिकाले दूध उत्पादन बढाउन र बाच्छी मात्र जन्माउन कृतिम गर्भाधान विधि प्रयोग गर्ने तयारी थालेको छ ।

व्यावसायिकरुपमा गाईपालन गर्ने किसानका उन्नत जातका एक हजार गाईमा कृत्रिम गर्भाधान प्रयोग गर्न नगरपालिकाले ३० लाख रुपैयाँ वजेट विनियोजन गरेको हो ।

देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट पशुको नश्ल सुधार गर्दै दुध उत्पादन बढाउन यस्तो योजना अगाडि बढाइएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।

त्यसका लागि टेन्डर आव्हान प्रक्रिया अगाडि बढाइसकिएको प्रमुख खत्रीको भनाइ छ । एउटा गाईलाई यो विधिबाट गर्भाधान गराउन न्युतम ३ हजार रुपैयाँ लागत लाग्ने र उक्त रकम किसानलाई नगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।

आर्थिक वर्ष ०७५–७६ का लागि ६२ करोड ८ लाख ५० हजार बराबरको बजेट विनियोजन गरेको नगरपालिकाले पशु सेवा कार्यक्रमतर्फ ८० लाख रुपैयाँ वजेट छुट्टाएको छ ।

किसानले लगानी अनुसारको आम्दानी गर्न नसकेकाले नश्ल सुधारसंगै घाँसमा आधारित पशुपालन र पशु वीमा कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नेपालले बताए ।