रेलमार्ग सञ्चालनमा आउने, रेलको डिब्बा भने भाडामा ल्याउने

२७ असार २०७५, बुधबार ०९:१७

असार २७, काठमाडौं ।

आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेलमार्ग सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ ।

मंगलबार सम्पन्न भारत र नेपालका अधिकारीहरुको बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । नेपालमा रेलको डिब्बा पनि नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

भारतीय पक्षले डिब्बा र जनशक्ति उपलब्ध गराए पनि सञ्चालनमा सम्पूर्ण अधिकार नेपालको हुने उनले बताए । भारतले भाडामा उपलब्ध गराउने रेलको रङ नेपालले चाहे अनुसारकै हुने र रेलमा नेपालकै झण्डा समेत राखिने छ ।

रेल विभागका अनुसार निश्चित समयपछि नेपाल आफैंले डिब्बा किन्ने तयारी छ ।

भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।