छोरी जन्मे वार्षिक १० हजार भत्ता, निर्णयलाई स्थानीयवासीले स्वागत गरे

२६ असार २०७५, मंगलवार ०६:४१

असार २६, काठमाडौं ।

यहाँको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजार रूपैयाँका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजार रूपैयाँका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए ।

छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताइन् ।

उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ ।

गाउँपालिकाको सो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् ।