प्रमुख प्रतिपक्षी दलका सांसदले संसदमा मन्त्री गोकर्ण विष्टलाई प्रश्नमाथि प्रश्न

२५ असार २०७५, सोमबार ०८:३०

असार २५, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई विगतमा ऊर्जा मन्त्री हुँदा विद्युतको लाइन काटेजस्तै यसपटक के काम गर्नुभयो ? भनी प्रश्न गरेकी छिन् । ऊर्जा मन्त्री रहेको समयमा सरकारी कार्यालयको विद्युत् लाइन काटेका कारण मन्त्री विष्ट चर्चामा आएका थिए ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सोमवार मन्त्री विष्टसंग कांग्रेस सांसद अनिता देवकोटाले विगतमा विद्युतको लाइन काटेजस्तै के काम गर्नुभयो भनेर प्रश्न गरेकी थिइन् ।

‘श्रम मन्त्रालयमा बेथिती बढेको छ, मन्त्री गोकर्ण विष्टलाई प्रश्न गर्न चाहान्छु, विगतमा बिजुलीको तार काटेझैं यसपटक के गर्नुभयो ?’ देवकोटाले प्रश्न गरिन् ।

जवाफमा मन्त्री विष्टले डेढ दर्जन सुधारका काम भएको बताए । ‘तीन महिनाको बीचमा डेढ दर्जन सुधारका काम अगाडि बढेका छन्,’ मन्त्री विष्टले भने, ‘सदनमार्फत् जानकारी गराउन चाहन्छु, केही समयमा सुधारका श्रृंखला लगातार सुन्न पाउनुहुनेछ ।’

विदेशमा मृत्युवरण गरेकाको शव ल्याउन किन ढिलाइ ?

सांसद दिलकुमारी रावलले प्रश्न गरिन्– ‘वैदेशिक रोजगारीमा गएर मृत्युवरण गरेका नेपालीको शव समयमा ल्याउने व्यवस्था गर्न सकिँदैन ?’

जवाफमा मन्त्री विष्टले भने– ‘कतिपय देशको कानून र क्षतिपूर्तिका लागि केही समय लाग्ने गरेको छ । अविलम्ब ल्याउने प्रक्रिया मिलाउन सम्बन्धित देशसँग प्रक्रिया अगाडि बढाइएको छ ।’

उनले यो सरकार बनाउनुभन्दा पहिले विमानस्थलमा शव बुझ्ने ठाउँ पनि नभएकोमा अहिले शव बुझ्ने कक्ष र परिवारसमक्ष शव पुर्‍याउने व्यवस्था गरिएको बताए ।

मन्त्री विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी रोक्नका लागि विदेशस्थित कम्पनीको मागपत्रलाई सम्बन्धित देशमा रहेका नेपालका कूटनीतिक नियोगमार्फत् प्रमाणित गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको बताए ।