असार २४, काठमाडौं । एजेन्सी
पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन् ।
पाकिस्तानी अदालतले शुक्रबार उनलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उनले बताए ।
“देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले लण्डनमा भने ।
आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहेका शरिफ जेल सजायँ भोग्न चाडै स्वदेश फर्किने बताए । तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले स्पष्ट पारेका छैन्न ।
श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफु स्वदेश फर्किने उनको भनाई छ । पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् ।
इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजायँ तोकेको हो ।
उनलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।
यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।
नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थियो ।
अदालतले शरिफसँगै उनकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सँजाय तोकेको छ ।
त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ ।
