साउदी अरबमा महिलालाई कार चलाउन दिइएपछि पुरुष क्रुद्ध, लगाइदिए कारमा आगो

२४ असार २०७५, आईतवार १०:१५

असार २४, काठमाडौं । एजेन्सी

साउदी अरबको मक्का प्रान्तमा केही मानिसले एक महिलाको कारमा आगो लगाइदिएका छन् । उनीहरूले महिलालाई गाडी चलाउन दिनु ईश्वरको इच्छाविरुद्ध गएको जस्तो हुने बताए ।

उनीहरूले पीडित महिलालाई गाडी चलाउन रोक्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका थिए ।

साउदीमा असार १० गतेदेखि महिलाहरूलाई गाडी चलाउने अधिकार दिइएको थियो ।

मक्काकी सलमा अल–शारीले स्थानीय समाचारपत्र ओक्जलाई बताएअनुसार, प्रतिबन्ध हटाइएपछि उनले कार चलाउन थालेकी थिइन् । त्यसपछि उनी वृद्ध आमाबुवालाई यताउता लैजानका लागि सहायता गर्न थालिन् ।

मक्काका उपराज्यपालले जाँच पूरा नहुन्जेलसम्मका लागि सलमालाई अर्को गाडी दिएका छन् । यस घटनामा दुईजनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार, महिलाहरूलाई गाडी चलाउने अधिकार दिने कदमलाई धेरै पुरुषले समर्थन गरेका छन् । तर केहीलाई यो कुरा मन परेको छैन ।