पाँच वर्षको पारिश्रमिक नलिने मेयरको घोषणा, के गर्ने भए पारिश्रमिक ?

२० असार २०७५, बुधबार ११:२३

असार २०, काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरले आफ्नो कार्यकालभरी पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा पाँच वर्षमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

नगर प्रमुख घिमिरेले आफूलाई प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम नगरका सबै सामुदायिक विद्यालयका एक/एक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको रुपमा उपलब्ध गराउने बताए ।

प्रदेश सरकारले प्रदेश ५ मा नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैंयाँ तोकेको छ । तिलोत्तमा नगरपालिकामा हाल ४४ वटा सामुदायिक विद्यालय छन् ।

सामुदायिक विद्यालयले सिफारिस गरेका विद्यार्थीलाई कार्यविधिका आधारमा लगातार पाँच वर्ष वा विद्यार्थीहरु सो विद्यालयमा अध्ययन गर्दासम्म छात्रवृत्ति प्रदान गरिनेछ ।

तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । ‘राजनीतिका नाममा राज्य कोषबाट तलब सुविधा लिने परिपाटी गलत हो, राजनीतिलाई विशुद्ध सामाजिक सेवा बनाउनुपर्छ भन्ने मान्यता अनुसार आफ्नो सम्पूर्ण पारिश्रमिक रकम छात्रवृत्तिमा लगाउने निर्णय गरेको हुँ ।’ नगर मेयर घिमिरेले भने ।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरेको छ ।

यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा एक करोड, भवन रंगरोगन तथा मर्मतसम्भारका लागि एक करोड २९ लाख, दिवा खाजाका लागि एक करोड, बाल विकास शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप ३५ लाख ८८ हजार, सामुदायिक विद्यालयहरुमा यातायात सञ्चालन अनुदानस्वरुप २० लाखलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।