असार २०, काठमाडौं । एजेन्सी
दिल्लीमा एकै परिवारका ११ जनाको आत्महत्याको घटना नयाँ नयाँ रहस्यहरू खुलिरहेका छन् । प्रहरीले बरामद गरेको रजिस्टरमा परिवारले मोक्षका लागि कैयौंपटक पूर्वतयारी गरेको र यसपल्ट पनि पूर्वतयारी मात्र नै गरिएको संकेत पाइएको छ ।
भाटिया परिवारका ललितका बच्चाहरूका क्लासमेटसँग कुरा गर्दा पनि ललित मृतक पितासँग कुराकानी गर्ने गरेको खुलेको छ ।
आत्महत्याको घटना मोक्षप्राप्तिको पूर्वतयारी मात्र भएको र विगत कैयौं दिनदेखि यसमा काम भइरहेको प्रहरीले विश्वास गरेको छ । आफूहरू फाँसीमा झुण्डिएपछि मृतक पिताले आएर आफूहरूलाई बचाउने र एकअर्काको हात खोल्न सहायता गर्ने परिवारले विश्वास लिएको हुनुपर्छ ।
प्रहरीका अनुसार, सन् २००७ मा ललितका पिता भोपालदासको मृत्यु भएको थियो । ललित परिवारले त्यतिखेरदेखि नै मृत पिता पिनामा आउने गरेको बताएको थियो । ललितलाई मृत पिताको आत्मासँग सम्पर्कमा रहेको आभास हुन थालेको थियो ।
ललितका छोराछोरीका सहपाठीहरूलाई सोध्दा उनीहरूले साथीले यसो भन्ने गरेको बताए, ‘आज हाम्रो बुवामा हजुरबुवा आउनुभएको थियो ।’
परिवारले कुनै तान्त्रिक बाबाको चक्करमा आत्महत्या भएको अनुमानलाई खारेज गरिदिएको छ ।
ललितले सपनामा पितासँग गरेको कुरा रजिस्टरमा लेख्न सन् २००७ देखि नै थालेका थिए । प्रहरीले २० भन्दा धेरै रजिस्टर र डायरी फेला पारेको छ ।
सबभन्दा पछिल्लो प्रविष्टिमा हरेक पंक्तिको फरक अर्थ लाग्छ । डायरीमा लेखिएअनुसार परिवार मर्न चाहँदैन थियो ।
प्रहरी सूत्रको कुरा मान्ने हो भने ठूल्दाजु भुवनेशको लाश हेर्दा मात्र अन्त समयमा अनुहारलाई तलमाथि पारेर फाँसीबाट बच्न चाहन्थ्यो । तर ऊ पनि बाँच्न सकेन ।
ललितले परिवारका सदस्यहरूलाई स्वर्गीय पिताबाट सन्देश प्राप्त भएको विश्वास दिलाएका थिए । तन्त्रमन्त्र र पूजामा ललित सक्रिय भएको देखिन्छ ।
