मलालाको जीवनीमा आधारित फिल्मको पोस्टर सार्वजनिक

२० असार २०७५, बुधबार ०८:४०

असार २०, काठमाडौं । एजेन्सी

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईको जीवनीमा आधारित फिल्म गुल मकईको पोस्टर मंगलवार सार्वजनिक गरिएको छ ।

अमजद खानको निर्देशनमा बनेको फिल्ममा मलालाको भूमिका रीम शेखले निर्वाह गरेकी छन् । रीम यसअघि टीभी शोहरू ‘ना आना इस देश लाडो’ र ‘दीया और बाती हम’ मा देखिइसकेकी छन् ।

फिल्ममा अतुल कुलकर्णी, दिव्या दत्ता, पंकज त्रिपाठी र ओम पुरीजस्ता कलाकार पनि देखिनेछन् । फिल्म कहिले सार्वजनिक हुने भनी जानकारी दिइएको छ ।

 

मलाला पाकिस्तानको खैबर–पख्तूनख्वा प्रान्तको स्वात इलाकामा जन्मेकी हुन् । उनले ११ वर्षदेखि नै गुल मकई नामक आफ्नो डायरीमार्फत तालिबानविरुद्ध अभियान शुरू गरेकी थिइन् । मलालाले तालिबानको स्कूल नजाने आदेशका बावजूद महिलाको शिक्षाका लागि प्रेरित गर्ने अभियान जारी राखिन् ।

 

अक्टोबर २०१२ मा स्कूलबाट फर्किंदै गर्दा मलालामाथि आतंकवादीहरूले आक्रमण गरेका थिए । उनलाई टाउकोमा गोली हानिएको थियो । उनलाई उपचारका लागि पेशावर अनि लन्डन लगिएको थियो ।

 

लन्डनमा उनी पूरा ठीक भइन् र त्यहीँ नै विद्यालय शिक्षा पूरा गरिन् ।

 

मलालालाई बहादुरीका लागि संसारभरि सम्मान गरियो । सन् २०१४ मा उनलाई कैलाश सत्यार्थीसँगै नोबेल शान्ति पुरस्कार दिइएको थियो ।