चार नाल भरुवा बन्दुकसहित तीन पक्राउ

१९ असार २०७५, मंगलवार ०५:४९

असार १९, काठमाडौं ।

सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ ।

सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले एक नाल ब्यारेल, फलामका छर्रा, बारुद र केप पनि नियन्त्रणमा लिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, सल्यानमा बन्दुक भएको सूचना आएपछि प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा प्रहरी टोली खोजतलास गर्न गएको थियो । पक्राउ परेकालाई हातहतियार खरखजानाअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताए ।

समाजमा शान्ति सुव्यवस्थामा खलल पार्नसक्ने भन्दै सल्यान प्रहरीले अवैध हातहतियार खरखजाना नियन्त्रण गर्न विशेष अभियान चलाएको बताइएको छ । यसभन्दा पहिले पनि यहाँ चार नाल घरेलु हतियार फेला परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।