दिल्लीमा ११ जनाको सामूहिक आत्महत्या : डायरीमा लुकेको रहेछ रहस्य

१८ असार २०७५, सोमबार ०८:४५

असार १८, काठमाडौं । एजेन्सी

भारतको राजधानी दिल्लीको बुराडीस्थित सन्तनगर इलाकामा एक घरमा ११ वटा शव फेला परेकोमा एउटा डायरीले मृत्युको कारण खोल्ने भएको छ ।

मृत्युको बारेमा आश्चर्यजनक जानकारीहरू सार्वजनिक भइरहेका छन् । यी मृत्युहरूमा तन्त्रमन्त्र तथा अन्धविश्वास कारण रहेको मानिएको छ ।

मृतकहरूको घरबाट उपलब्ध डायरीमा मृत्युको रहस्य लुकेको छ ।

डायरीको एक पृष्ठमा लेखिएको छ, ‘राम्ररी पट्टी बाँध्नुपर्छ । शून्यबाहेक केही पनि देखिनुहुँदैन । डोरीसँग सूतीका शल र साडी प्रयोग गर्नुपर्छ ।’

डायरीमा यो क्रिया गर्ने तारिख पनि लेखिएको छ । त्यसमा लेखिएअनुसार, ‘सात दिनसम्म लगातार पूजा गर्नुपर्छ । लगन र श्रद्धापूर्वक पूजा गर्नुपर्छ । कोही घरमा आइपुगेमा अर्को दिन गर्नुपर्छ । बिहीवार वा आइतवार छान्नू ।’

क्रियाको समय राति एक बजे छान्नुपर्छ भनी लेखिएको छ ।

अर्को पृष्ठमा परिवारका एक सदस्यले लेखेका छन्, ‘सबैको सोच एउटै हुनुपर्छ । दृढतापूर्वक सबै काम गर्नुपर्छ ।’

डायरीमा क्रिया गर्दा घरमा धमिलो प्रकाश हुनुपर्ने लेखिएको छ । डायरीको अर्को पृष्ठमा लेखिएको थियो, ‘पट्टीहरू बाँकी रहेकोमा आँखामा त्यसलाई थपेर बाँड्नू । मुखको पट्टीलाई पनि अझै बाँध्नू । जति दृढता र श्रद्धा देखाउँछौ, त्यति नै उचित फल पाउनेछौ ।’