असार १८, काठमाडौं ।
सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डा. गोविन्द केसीको अनसन, माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाउने सरकारी निर्णय लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद भरतकुमार शाहले जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई धरपकड गरेको घटनाप्रति घोर आपत्ती जनाए । केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उनले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।
माइतीघर मण्डलामा प्रर्दशनमा निषेध गरेर प्रजातन्त्रलाई अंकुश लगाई अधिनायकवादी प्रवृति देखाउने काम बन्द गर्न उनले सरकारलाई सचेत गराए । यातायात क्षेत्रमा सिण्डिकेट अझै जारी रहेको भन्दै सांसद शाहले सरकारलाई भ्रामक सन्देश प्रवाह नगर्न आग्रह गरे ।
सांसद कल्याणी खड्का रौतहट जिल्लाको सदरमुकाम गौरस्थित गौर राइस एण्ड फ्लोरलाई निजीकरण गर्ने प्रयास भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा योङभेद कम्युनिष्ट लिगको नामबाट गाउपालिकाका प्रमुखहरुलाई धम्क्याउने, अपमानित गर्ने तथा अपहरण सम्मको धम्की दिने गरेको भन्दै तत्काल अराजक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रकाश रसाइलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले लिपुलेकका बारेमा सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसंगको प्रश्नउत्तरको समय पुन व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले विदेशनीतिमा सरकार असफल भइसकेको दाबी गरे ।
आफूहरु राजधानीका विभिन्न स्थानबाट १५ रुपैयाका पानी जहाज चढेर संसद भवन आउने गरेको भन्दै उनले रेल भन्दा प्यारो माटो भएकाले लिपुलेकका विषयमा सरकार स्पष्ट हुनुपर्ने र त्यसबारे सदनलाई यथार्थ जानकारी दिनुपर्ने माग गरे ।
उनले भने ‘रेल आउदै गर्दा चढ्दै गरौला तर लिपुलेकको एक चिम्टी माटो पनि त्यति पि्रय छ । प्रधानमन्त्रीले पाना फर्काउनुपर्ने ? प्रधानमन्त्रीले खिया लागेको कागज पाना टकटकाउनुपर्ने ? त्यो टकटकाएको कागज संसदमा जानकारी गराउनुपर्यो । ”
सांसद शान्तिमाया पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत शेयर आहृवानलाई एक महिनापछि सार्न माग गरिन् ।
